वर्षा र पहिरोका कारण काठमाडौंबाट बाहिरिने सबै नाका बन्द

1.8k Shares

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाबाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन रोकिएको छ । बसपार्कलगायत विभिन्न स्थानमा लामो दूरीका गाडी होल्ड गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै बाहिरिने सबै लामो दूरीका सवारीसाधन अर्को निर्णय नभएसम्म सञ्चालन नगर्न निर्देशन दिइएको छ । सोमबार रातिदेखि रात्रिकालीन सवारी रोकिएकोमा मंगलबार बिहान पनि दिवाकालीन सेवा सञ्चालन गर्न अनुमति दिइएको छैन ।

चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि उक्त मार्ग पनि बन्द गरिएको छ। फर्पिङ–फाखेल–सिस्नेरी हुँदै हेटौंडा जाने सडक र कान्तिपथको पाङ्दुरे तथा टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि ती सडकसमेत अवरुद्ध भएका छन् ।

ट्राफिक प्रहरीले सडकको अवस्था र जोखिमको निरन्तर मूल्याङ्कन गर्दै सवारी सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गरिने जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार