लेखा, अर्थ, शिक्षा र पर्यटन समितिको बैठक बस्दै

1.4k Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आ–आफ्ना कार्यसूचीअनुसार विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्ने भएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८:३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ। छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिव, कानुन मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषयविज्ञलाई आमन्त्रण गरिएको छ ।

त्यसैगरी, अर्थ समितिको बैठक पनि बिहान ८:३० बजे बस्नेछ। बैठकमा नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन, बीमा क्षेत्रका नीतिगत तथा कार्यगत चुनौती, बीमितको हित संरक्षण, जोखिम न्यूनीकरणका प्रयास तथा सरकारी स्वामित्वका बीमा संस्थानहरूको पछिल्ला तीन वर्षको कार्यसम्पादनबारे समीक्षा गरिने कार्यसूची रहेको छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ९:३० बजे बस्नेछ। बैठकमा विद्युतीय राहदानी छपाइसम्बन्धी विषयमा छलफल हुने तय गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान ९:३० बजे बस्नेछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिनेछ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा कानुन मन्त्रालयका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ ।

सम्बन्धित समाचार