प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य : रास्वपा

995 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यम र पत्रकारको स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट गरेको छ। सञ्चारगृह वरपर देखिएका शंकास्पद गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै पार्टीले सरकारसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको हो।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम लोकतन्त्रको चौथो अंग भएकाले पत्रकारले निर्भीक र स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, त्रास फैलाउने वा समाचार प्रकाशन तथा प्रसारणलाई अप्रत्यक्ष रूपमा प्रभावित गर्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने जनाएको छ। सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने र सञ्चारगृहमा भयको वातावरण सिर्जना गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने पार्टीको भनाइ छ।

विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका व्यक्तिहरूको गतिविधि र त्यसबाट उत्पन्न परिस्थितिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन रास्वपाले सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।

रास्वपाले स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारले आफ्नो व्यावसायिक जिम्मेवारी निर्भीक रूपमा निर्वाह गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

साथै, सञ्चार क्षेत्रलाई तथ्यमा आधारित, जिम्मेवार र स्वतन्त्र बनाउने वातावरण तयार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने र कुनै पनि बहानामा पत्रकारिता क्षेत्रलाई कमजोर पार्ने प्रयास नगर्न पार्टीले आग्रह गरेको छ।

रास्वपाले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धता दोहोर्याउँदै पछिल्लो समय देखिएका दबाब र असुरक्षाका घटनाले लोकतान्त्रिक अभ्यास कमजोर पार्न सक्ने चेतावनी दिएको छ।

सम्बन्धित समाचार