चितवनमा ३२० मिमि वर्षा, नारायणी आसपास डुबानको उच्च जोखिम

967 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा बढी वर्षा चितवनको नारायणी क्षेत्रमा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु विज्ञान महाशाखाका अनुसार चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा ३१९.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।

महाशाखाका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म देशभर रहेका ३३५ वर्षा मापन केन्द्रमध्ये २४३ केन्द्रमा वर्षा भएको छ। तीमध्ये चितवनको नारायणी फिल्ड अफिससहित आसपासका तीन केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ भने देशभर २३ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ।

विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायका अनुसार सोमबार रातिदेखि न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सरेसँगै काठमाडौंलगायत धेरै स्थानमा लगातार भइरहेको वर्षा कम भएको छ। उहाँले आज सोमबारको तुलनामा मौसम केही घाम लाग्ने र तापक्रम पनि बढ्ने बताउनुभयो।

उहाँका अनुसार सप्तकोशी र नारायणी नदी आसपासका क्षेत्रमा भने आज मध्याह्नसम्म डुबानको जोखिम कायम रहनेछ।

विभागले चितवनको भरतपुर तथा नारायणी आसपासका केही क्षेत्र डुबानमा परेको जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार