एक सातापछि हरियो बन्यो शेयरबजार, नेप्से ६.११ अंकले बढ्यो

2.3k Shares

काठमाडौं । लगातार एक सातादेखिको गिरावटपछि नेपाली शेयरबजारमा सुधार देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा पुगेको हो।

यो सुधार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो वृद्धि हो। राष्ट्र बैंकले गत २३ असारमा मौद्रिक नीति सार्वजनिक गरेको दिन नेप्से ३० अंकभन्दा बढीले उकालो लागेको थियो। त्यसपछि भने बजार लगातार एक सातासम्म ओरालो लागेको थियो।

मंगलबार भने बजारले गिरावटको श्रृंखला तोड्दै सकारात्मक लय समातेको छ। सूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। नेप्सेका अनुसार आज ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह बाहेक बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। आज १६४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १०१ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

बजारमा आएको यो सुधारले पछिल्ला दिनको निरन्तर गिरावटपछि लगानीकर्तामा केही आशा जगाएको देखिएको छ।

सम्बन्धित समाचार