गृहमन्त्री गुरुङको प्रतिबद्धता : मिटरब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन सार्वजनिक गरिने

1.5k Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूसँग छलफल गर्दै यसअघि गठन गरिएका तीनवटै आयोगका प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

पीडित पक्षसँग भएको संवादमा उनले विगतमा बनेका आयोगका सिफारिसहरू कार्यान्वयन र सार्वजनिक जानकारीमा ल्याउने विषयमा गृह मन्त्रालय गम्भीर रहेको बताएका हुन्।

गृहमन्त्री गुरुङले पीडितहरूको माग र गुनासोलाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै आयोगहरूले तयार पारेका प्रतिवेदन सार्वजनिक भएपछि समस्या समाधानका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया थप स्पष्ट हुने विश्वास व्यक्त गरे। साथै, प्रतिवेदनका आधारमा आवश्यक निर्णय र कार्यान्वयन अघि बढाइने उनको भनाइ थियो।

छलफलका क्रममा मिटरब्याज पीडितहरूले विगतमा सरकारले पटक–पटक सम्झौता गरे पनि अधिकांश प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरेका थिए। उनीहरूले आयोगका प्रतिवेदन सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही अघि बढाउन तथा पीडितलाई न्याय दिलाउने स्पष्ट कार्ययोजना ल्याउन माग गरेका छन्।

सरकारले यसअघि मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि विभिन्न समयमा आयोग गठन गरेको थियो। ती आयोगहरूले हजारौँ उजुरी अध्ययन गरी आवश्यक सिफारिस सरकारलाई बुझाएका थिए। तर प्रतिवेदन कार्यान्वयन र सार्वजनिक नहुँदा पीडितहरू असन्तुष्ट रहँदै आएका छन्।

पछिल्ला दिनमा विभिन्न जिल्लाबाट न्यायको माग गर्दै काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूको आन्दोलनलाई मध्यनजर गर्दै गृह मन्त्रालयले संवादलाई तीव्र बनाएको छ। पीडितहरूले दीर्घकालीन समाधान, प्रभावकारी कानुनी संरक्षण र आयोगका सिफारिस कार्यान्वयनको माग दोहोर्‍याइरहेका छन्।

सम्बन्धित समाचार