धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो पुँजी बजार विकास मार्गचित्र

1.1k Shares

काठमाडौं  । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रविधिमैत्री बनाउँदै राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने उद्देश्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।

बोर्डले वित्तीय क्षेत्र सुधार, निजी क्षेत्रको सशक्तीकरण, लगानी विस्तार तथा आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर आगामी १० वर्षको रणनीतिक योजना सार्वजनिक गरेको हो।

मार्गचित्रअनुसार हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७० प्रतिशत बराबर रहेको छ। देशभर ७९ लाख ७२ हजारभन्दा बढी डिम्याट खाता खुलिसकेका छन् भने ७० लाखभन्दा बढी लगानीकर्ता ‘मेरो सेयर’ प्रणालीमार्फत पुँजी बजारमा आबद्ध छन्।

प्रतिवेदनले नेपालको पुँजी बजार अझै पनि मुख्यतः बैंक तथा वित्तीय संस्था र जलविद्युत् क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उत्पादनमूलक उद्योग, सूचना प्रविधि तथा सेवा क्षेत्रको न्यून सहभागितालाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। सीमित वित्तीय उपकरण, कमजोर ऋणपत्र बजार, विदेशी पोर्टफोलियो लगानीको अभाव तथा न्यून वित्तीय साक्षरतालाई पनि सुधार गर्नुपर्ने क्षेत्रका रूपमा पहिचान गरिएको छ।

बोर्डले सन् २०३६ सम्म बजार पुँजीकरणलाई जीडीपीको १५० प्रतिशतभन्दा माथि पुर्‍याउने, सूचीकृत कम्पनीको संख्या ५०० नाघ्ने, दैनिक औसत कारोबार ३० अर्ब रुपैयाँ पुर्‍याउने तथा डिम्याट खाताको संख्या १ करोड २० लाखभन्दा बढी बनाउने लक्ष्य राखेको छ। साथै, २०० भन्दा बढी साना तथा मझौला उद्योगलाई पुँजी बजारमा सूचीकृत गराउने र संस्थागत लगानीको हिस्सा ४० प्रतिशतसम्म पुर्‍याउने योजना पनि समेटिएको छ।

मार्गचित्रमा कानुनी तथा नियामकीय सुधार, बजारको विविधीकरण, संस्थागत लगानीकर्ताको सशक्तीकरण, प्रविधिमैत्री प्रणाली विकास, लगानीकर्ता संरक्षण, वित्तीय साक्षरता अभिवृद्धि, विदेशी लगानी आकर्षण, हरित वित्त प्रवर्द्धन तथा साना–मझौला उद्योगको विकासलाई रणनीतिक प्राथमिकतामा राखिएको छ।

बोर्डका अनुसार मार्गचित्र तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरण (२०२६–२०२७) मा कानुनी तथा संस्थागत सुधार, दोस्रो चरण (२०२८–२०३०) मा बजार विस्तार, नयाँ वित्तीय उपकरण र डिजिटल रूपान्तरण तथा तेस्रो चरण (२०३१–२०३६) मा अन्तर्राष्ट्रियकरण, क्षेत्रीय एकीकरण र विश्वस्तरीय पुँजी बजार निर्माणमा जोड दिइनेछ।

सम्बन्धित समाचार