काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डसँग हुने बहुप्रतीक्षित खेलअघि फुटबल र राजनीतिलाई अलग राख्नुपर्ने बताएका छन्। एटलान्टामा आज राति हुने खेलअघि उनले दुई देशबीचको ऐतिहासिक तथा राजनीतिक विवादलाई मैदानमा नल्याउन आग्रह गरेका हुन्।
सन् १९८२ मा फकल्यान्ड (अर्जेन्टिनामा माल्भिनास) द्वीपसमूहको विषयलाई लिएर अर्जेन्टिना र बेलायतबीच युद्ध भएको थियो। ७४ दिनसम्म चलेको उक्त युद्धमा सयौँ सैनिकको ज्यान गएको थियो र आजसम्म पनि द्वीपसमूहको सार्वभौमिकतालाई लिएर दुवै देशबीच विवाद कायम छ।
स्कालोनीले भने, “यो केवल एउटा फुटबल खेल हो। धेरै वर्षअघि भएको दुःखद घटनालाई अहिलेको खेलसँग जोड्नु उचित हुँदैन। संसारका विभिन्न ठाउँमा अझै युद्ध भइरहेका छन्, त्यसैले हामी युद्धको विरोध गर्छौं। तर फुटबललाई राजनीतिसँग मिसाउनु हुँदैन।”
यद्यपि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले भने इंग्ल्यान्डविरुद्धको खेललाई केवल खेल नभई माल्भिनास, डिएगो म्याराडोना र लियोनेल मेस्सीसँग जोडिएको राष्ट्रिय भावनाको प्रतिस्पर्धा भएको बताएकी छन्।
ऐतिहासिक प्रतिस्पर्धालाई ध्यानमा राख्दै एटलान्टामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सन् १९८६ को विश्वकपमा म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलपछि यो प्रतिस्पर्धाले विशेष महत्व पाएको थियो। यसपटक भने कप्तान लियोनल मेस्सीले आफ्नो विश्वकप करिअरमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध खेल्नेछन्।
३९ वर्षीय मेस्सीले जारी विश्वकपमा आठ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। स्कालोनीले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम विश्वकै उत्कृष्ट खेलाडीमध्ये पर्ने भएकाले उनीहरूलाई रोक्न विशेष रणनीति बनाइएको पनि बताएका छन्।