सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता जारी, आजै सहमति हुने तयारी

1.4k Shares

काठमाडौं । सरकार र मिटरब्याज (अवैध चर्को ब्याज) पीडितबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। दुवै पक्षबीच अधिकांश विषयमा सहमति जुटिसकेको र आजै लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

गृह मन्त्रालयको पहलमा भइरहेको वार्तामा सरकार र पीडित पक्षले तयार पारेको सहमतिको मस्यौदामाथि अन्तिम छलफल जारी छ। मस्यौदालाई कानुनी रूप दिन आवश्यक प्रक्रिया पूरा गरिएपछि सहमतिपत्रमा हस्ताक्षर गरिने जनाइएको छ।

मिटरब्याज पीडितले आफ्ना छ बुँदे माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएका छन्। सरकार मौखिक रूपमा मागप्रति सकारात्मक देखिए पनि पीडित पक्षले कार्यान्वयन सुनिश्चित हुने गरी लिखित प्रतिबद्धता मागेको छ।

यसअघि जनकपुरबाट काठमाडौंतर्फ न्याय मार्च थालेका पीडितलाई भेट्न गृहमन्त्रीले निजगढमै पुगेर लगातार वार्ता गरेका थिए। त्यसपछि आन्दोलनरत पक्षले अध्यक्ष अवधेश कुसवाहाको नेतृत्वमा छ सदस्यीय वार्ता टोली गठन गरेको थियो।

सरकारले यसअघि गठन भएका आयोगहरूको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। तर पीडित पक्षले प्रतिवेदन कार्यान्वयन मात्र पर्याप्त नभएको भन्दै आफ्नो माग समेटिएको स्पष्ट लिखित सहमति हुनुपर्ने अडान दोहोर्याएको छ।

यदि आज सहमति सम्पन्न भए, लामो समयदेखि जारी मिटरब्याज पीडितको आन्दोलन समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार