विश्वकप–२०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेपछि फकल्याण्ड टापुसम्बन्धी राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेका अर्जेन्टिनाका खेलाडीमाथि फिफाले अनुसन्धान सुरु गरेको छ ।
अमेरिकाको एटलान्टामा भएको सेमिफाइनलमा जित हात पार्दै अर्जेन्टिनाले स्पेनसँगको फाइनल भेट पक्का गरेको थियो। खेलपछि अर्जेन्टिनी खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड टापु अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । फकल्याण्ड टापु (अर्जेन्टिनामा माल्भिनास) माथि बेलायत र अर्जेन्टिनाबीच दशकौँदेखि सार्वभौमिकताको विवाद रहँदै आएको छ ।
फिफाका प्रवक्ताले खेलको आधिकारिक प्रतिवेदन अध्ययन भइरहेको र अनुशासनसम्बन्धी नियमअनुसार आवश्यक निर्णय लिइने बताएका छन् । फिफाको नियमावलीअनुसार खेल मैदानमा राजनीतिक सन्देश वा प्रदर्शन गर्न निषेध गरिएको छ । यसअघि सन् २०१४ मा पनि यस्तै प्रकृतिको ब्यानर प्रदर्शन गरेको भन्दै अर्जेन्टिनालाई २० हजार पाउन्ड जरिवाना गरिएको थियो ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले फिफाको अनुसन्धानलाई समर्थन गर्दै फकल्याण्ड टापु बेलायतकै रहने आफ्नो अडान दोहोर्याएको छ ।
उता अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलीले खेलाडीहरूको भावना स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले फकल्याण्ड टापुमाथिको दाबी अर्जेन्टिनाको राष्ट्रिय भावना भए पनि त्यसलाई कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् ।
सन् १९८२ मा फकल्याण्ड टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच ७४ दिनसम्म युद्ध भएको थियो, जसमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो । सन् २०१३ मा भएको जनमतसंग्रहमा त्यहाँका अधिकांश बासिन्दाले बेलायतसँगै रहने पक्षमा मतदान गरेका थिए ।
फिफाको अनुसन्धानका कारण अर्जेन्टिनाको फाइनल यात्रा प्रभावित हुने सम्भावना नरहे पनि ब्यानर प्रदर्शनमा संलग्न खेलाडीमाथि अनुशासनात्मक कारबाही वा स्पेनविरुद्धको फाइनल खेलमा प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच बेलायती नेता एड डेभीले यसअघि जिब्राल्टरसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण स्पेनका खेलाडी अल्भारो मोराटा र रोड्रीमाथि कारबाही भएको उदाहरण दिँदै अर्जेन्टिनी खेलाडीमाथि पनि समान कारबाही गर्न माग गरेका छन् ।