कार–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक घाइते

1.5k Shares

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १ बजे गौरीगञ्ज–२ कृष्णखोला नजिक हुलाकी राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरका ३० वर्षीय मोहम्मद नुर इस्लाम र पछाडि सवार सोही स्थानका ३५ वर्षीय एनबी मोजाबुल हक गम्भीर घाइते भएका थिए।

घाइते इस्लामलाई दमक अस्पताल पुर्‍याइए पनि दिउँसो २:३७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसैगरी उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएका हकलाई पनि चिकित्सकले जाँचकै क्रममा दिउँसो ३:१३ बजे मृत घोषित गरेका हुन्।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो।

प्रहरीले दुर्घटनामा संलग्न कारलाई नियन्त्रणमा लिएको छ। कार चालक विराटनगर–१३ निवासी ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार