भदौ १२ देखि ताप्लेजुङ गोल्डकप

1.8k Shares

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ। जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिताका रूपमा परिचित गोल्डकपको तयारी तीव्र बनाइएको आयोजकले जनाएको छ।

लाखेजात्रा सञ्चालन समितिले शनिबार खेलमैदानमै पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणतर्फ अघि बढाइएको छ।

यसअघि झैँ यस वर्ष पनि नेपालबाहिरको एक टोलीसहित आठ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीको अन्तिम टुङ्गो भने अझै लाग्न बाँकी रहेको अध्यक्ष मादेनले जानकारी दिनुभयो।

आयोजकका अनुसार यस वर्ष पुरस्कार राशि पनि वृद्धि हुन सक्ने सम्भावना छ। सहभागी टोली र पुरस्कार राशिबारे कम्तीमा एक साताभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जनाइएको छ। गत वर्ष सम्पन्न तेस्रो संस्करणमा विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

वि.सं. २०२९ सालदेखि लाखेजात्रा पर्वको अवसरमा विभिन्न नामबाट फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ। कञ्चनजङ्घा च्यालेन्ज कप र पाथीभरा गोल्डकप हुँदै पछिल्ला चार वर्षदेखि प्रतियोगिता ताप्लेजुङ गोल्डकप का नाममा सञ्चालन हुँदै आएको हो।

समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यस वर्ष प्रतियोगिता सम्पन्न गर्न करिब ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताका सबै खेल सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिनेछन्।

सम्बन्धित समाचार