काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनको बालगृहमा रहेका २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृहको दयनीय अवस्था, सरसफाइको अभाव र बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले उद्धार प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दा बालगृहमा सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा स्नानगृह अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा फरक–फरक उमेरका बालबालिकालाई एउटै स्थानमा राखिएको पाइएको थियो। यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि पनि नेपाल बाल संगठनलाई भौतिक पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र बालबालिकाको बसोबास व्यवस्थित बनाउन पटक–पटक निर्देशन दिएको थियो। सम्बन्धित पक्षसँग छलफल भए पनि अपेक्षित सुधार नभएपछि प्राप्त उजुरी, भिडियो सामग्री र स्थलगत अनुगमनका आधारमा उद्धारको निर्णय गरिएको मन्त्रालयको भनाइ छ।
पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा सारिएको छ। उद्धार गरिएकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको स्वास्थ्य परीक्षण, संरक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जनाउँदै बाँकी बालबालिकाको अवस्थाको समेत मूल्याङ्कन गरी आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।