काठमाडौं । देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा आफ्नो औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग आसपास रहेको छ भने पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेको छ। यसको प्रभावका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहने र हिमाल, पहाड तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशका एकाध स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुन सक्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा स्थानीय तहलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
