भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता, कोशी ब्यारेजका ढोका खोल्न तयारी

1.5k Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार तथा प्रतिकार्यको तयारीलाई तीव्र बनाएको छ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेर बाढीको जोखिम बढेमा कोशी ब्यारेजका ढोकाहरू आवश्यकता अनुसार क्रमशः खोलिने जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार देशका २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ। विभागले नदी तथा खोलाहरूको जलप्रवाहको निरन्तर निगरानी गरिरहेको र जोखिम बढेमा तत्काल सूचना प्रवाह गरिने जनाएको छ।

प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी उद्धार सामग्री, जनशक्ति र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ।

साथै, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान सम्भावित क्षेत्रमा विशेष निगरानी गर्न निर्देशन दिइएको छ।

प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यक बाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलाको सतह बढेको अवस्थामा पार गर्ने प्रयास नगर्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचनाको नियमित पालना गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार