काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा वर्षा जारी रहने र साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ र स्याङ्जाका साना नदी तथा खोलामा बाढीको जोखिम बढ्न सक्ने सम्भावना रहेको छ।
त्यसैगरी पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाका साना नदी र खोलामा पनि आकस्मिक बाढी आउन सक्ने विभागले जनाएको छ।
विभागले नदी किनार, तटीय क्षेत्र तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन, अनावश्यक रूपमा नदी तर्न वा खोलामा प्रवेश नगर्न तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको छ।
यद्यपि विभागका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिमी राप्ती नदीको जलस्तर जोखिम रेखाभन्दा तल नै रहेको छ। तर स्थानीय स्तरमा हुने भारी वर्षाका कारण साना नदी र खोलामा भने अचानक जलस्तर बढ्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको विभागको भनाइ छ।