काठमाडौं । संघीय संसदअन्तर्गतका तीन वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ। आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा आयोजना हुने भएको हो।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा गरिएको अनुगमनको समीक्षा गरिनेछ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः१५ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा ऐन कार्यान्वयनको मापन तथा विधायिकी अन्तरसम्बन्धका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।