झापामा वित्तीय अपराधका ३७३ मुद्दा, बैंकिङ कसुर सबैभन्दा बढी

1.1k Shares

झापा । डिजिटल प्रविधि र अनलाइन कारोबारको विस्तारसँगै झापामा वित्तीय अपराधका घटना उल्लेख्य रूपमा बढेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी ३७३ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीको तथ्याङ्कअनुसार दर्ता भएका मुद्दामध्ये २७० वटा फर्स्योट भइसकेका छन् भने १०३ वटा मुद्दा अझै अनुसन्धानकै क्रममा रहेका छन्। यी घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

उनका अनुसार प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने बानी तथा आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन्। फरार अभियुक्तको खोजीलाई समेत तीव्र बनाइएको उनले बताए।

प्रहरीका अनुसार सबैभन्दा बढी बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० वटा फर्स्योट भएका छन् भने ७४ वटा मुद्दा विचाराधीन छन्। यस्तै, ठगीका ६५ मुद्दामध्ये ४० वटा फर्स्योट भएका छन् भने २५ वटा अनुसन्धानकै क्रममा छन्।

त्यसैगरी, आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दामध्ये आठवटा फर्स्योट भएका छन् भने चारवटा बाँकी छन्। अनलाइन सट्टेबाजीसम्बन्धी दुईवटा मुद्दा दर्ता भएकामा दुवैको अनुसन्धान टुंगिएको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समय बैंक खाता, ओटिपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरेर बैंकिङ ठगी गर्ने, अनलाइन किनमेल, चिठ्ठा परेको, घरबाटै काम गरेर धेरै आम्दानी हुनेजस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने घटना बढिरहेको जनाएको छ।

यसप्रति सचेत रहन आग्रह गर्दै प्रहरीले अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण कसैलाई नदिन, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न तथा अस्वाभाविक आम्दानीको प्रलोभनमा नपर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार