काठमाडौं, साउन ५ । देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान रहेकाले बाढी र पहिरोको जोखिम केही कम रहने देखिएको छ।
उनका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद् दाहालले पछिल्ला दुई दिनको तुलनामा भोलि र पर्सि वर्षाको मात्रा केही कम हुने संकेत देखिएको बताए। यद्यपि मनसुनी प्रणाली सक्रिय रहेकाले स्थानीय मौसममा परिवर्तन हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले जल तथा मौसम विज्ञान विभागले प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीमार्फत सम्भावित जोखिमबारे नियमित रूपमा सूचना सार्वजनिक गरिरहेको पनि जानकारी दिए।