कोशी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

1.8k Shares

काठमाडौं । देशका छ प्रदेशका विभिन्न स्थानमा मंगलबार मध्यम वर्षा भइरहेको छ भने आगामी तीन दिनसम्म देशका अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मंगलबार राति देशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, बिहीबार पनि देशभर बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो र तराईका केही स्थानमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार