बाहुण्डागीमा हात्तीको आतंक: साँझसँगै त्रास, अन्धकारले बढायो जोखिम

3k Shares

दमक । झापाको मेचीनगर–४ बाहुण्डागीका बासिन्दा वर्षौँदेखि जंगली हात्तीको आतंकका बीच जीवन बिताउन बाध्य छन्। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा साँझ पर्नासाथ सीमापारिबाट दैनिक २० देखि ४० वटासम्मको हात्तीको हूल गाउँ प्रवेश गर्ने गरेपछि स्थानीयको जनजीवन असुरक्षित बनेको छ।

स्थानीयका अनुसार हात्तीले धानबाली नष्ट गर्नुका साथै घर–गोठ र मानव जीवनसमेत जोखिममा पार्ने गरेको छ। मेची खोला किनारका धानखेतमा अहिले दैनिकजसो हात्तीका पाइला देखिन थालेको स्थानीय शंकर लुइँटेलले बताए।

हात्तीको त्राससँगै विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या पनि स्थानीयका लागि अर्को ठूलो चुनौती बनेको छ। हात्ती प्रभावित स्थानीय विकास ओझाका अनुसार हात्ती गाउँ पस्ने संवेदनशील समयमा नै बारम्बार बिजुली जाने गरेकाले अन्धकारमा हात्तीको गतिविधि थाहा पाउन कठिन हुने र जोखिम झन् बढ्ने गरेको छ।

रातको समयमा हात्तीको आवतजावत बढी हुने भएकाले विद्युत् अत्यावश्यक भए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा गाउँलेहरू रातभर त्रासमा जाग्राम बस्न बाध्य हुने गरेका छन्।

स्थानीय सन्तोष सुवेदीले हात्तीलाई पर्यटन वा अध्ययनको अवसरका रूपमा व्याख्या गरिनु वास्तविकताभन्दा टाढाको कुरा भएको बताउँदै वर्षौँदेखि जनधनको क्षति बेहोर्दै आएका बासिन्दाका लागि हात्ती "आतंक" मात्र बनेको बताए।

हात्तीपीडित मेघराज खड्काले समस्या समाधानका लागि पटक–पटक सुझाव दिए पनि कार्यान्वयन नभएको गुनासो गरे। उनका अनुसार नेताहरू र सरकारी टोली निरीक्षणका लागि आउने गरे पनि प्रभावकारी समाधान भने अझै हुन सकेको छैन।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा झापा क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताएकी छन्। हात्तीपीडितसँग छलफलका क्रममा उनले स्रोत र साधनको अभावका कारण अपेक्षित गतिमा काम हुन नसके पनि दीर्घकालीन समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

सम्बन्धित समाचार