काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। नेपाली हस्तकला क्षेत्रको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा केन्द्रित भएर छलफल हुन लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे तय गरिएको बैठकमा हस्तकला क्षेत्रका समस्या, सम्भावना, नीतिगत सुधार तथा सरकारी सहकार्यका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकारसहित महासंघका अन्य पदाधिकारीहरूको सहभागिता रहनेछ।
बैठकमा हस्तकला उत्पादनको बजारीकरण, निर्यात प्रवर्द्धन, सीप संरक्षण, उद्यमीको क्षमता अभिवृद्धि तथा हस्तकला उद्योगलाई प्रतिस्पर्धी बनाउने उपायबारे सुझाव प्रस्तुत गरिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले पनि हस्तकला क्षेत्रको विकासका लागि सरकारले खेल्न सक्ने भूमिकाबारे महासंघसँग धारणा आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ।