दाङको थारू सांस्कृतिक सङ्ग्रहालय, संस्कृति संरक्षणसँगै अध्ययन केन्द्रका रूपमा स्थापित
1.5k
Shares
दाङ । दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। थारू समुदायको मौलिक भाषा, संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यो सङ्ग्रहालयमा वर्षेनी हजारौँ पर्यटक पुग्ने गरेका छन्।
सङ्ग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार झापादेखि कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकसमेत यहाँ अवलोकनका लागि आउने गरेका छन्। हालसम्म १३ हजार ३८२ विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन्।
सङ्ग्रहालयमा नेपालका विभिन्न क्षेत्रका थारू समुदायको सांस्कृतिक विविधतालाई एउटै स्थानमा प्रस्तुत गरिएको छ। यहाँ डङ्गौरा, देसौरी, राना, चितवनिया र मोरङ्गिया थारू समुदायका परम्परागत घरका नमुना निर्माण गरिएका छन्। साथै मौलिक वेशभूषा, गरगहना, हस्तकला, कृषि औजार, माछा मार्ने सामग्री तथा परम्परागत कृषि प्रणालीलाई जीवन्त रूपमा प्रदर्शन गरिएको छ।
व्यवस्थापक चौधरीका अनुसार पछिल्लो समय थारू भाषासम्बन्धी पुस्तकहरूको सङ्कलन पनि विस्तार गरिएको छ। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा थारू संस्कृति अध्ययन गर्न इच्छुक व्यक्तिका लागि सङ्ग्रहालयलाई महत्वपूर्ण अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सहयोग पुगेको छ।
सङ्ग्रहालयका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आधुनिक जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको थारू समुदायको भाषा, संस्कृति, परम्परा र वेशभूषाको संरक्षण गर्न सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो।
घोराही उपमहानगरपालिका–२ का सुन्दर चौधरीले सङ्ग्रहालयले थारू समुदायको मौलिक पहिचानलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पूर्वदेखि पश्चिमसम्मका थारू समुदायको रहनसहन, संस्कृति, परम्परा र वास्तुकलालाई एउटै स्थानमा अवलोकन गर्न पाउँदा देशव्यापी सांस्कृतिक यात्राको अनुभूति हुने बताउनुभयो।