वीरगन्ज भन्सारबाट दुई खर्ब ४३ अर्बभन्दा बढी राजस्व सङ्कलन, लक्ष्य भने अपूरै

1.5k Shares

वीरगन्ज (पर्सा) । मुलुककै प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व बढे पनि निर्धारित लक्ष्य भने पूरा हुन सकेन।

भन्सार विभागले उक्त आर्थिक वर्षका लागि दुई खर्ब ७३ अर्ब ३९ करोड ४७ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। तर वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८९.२४ प्रतिशत अर्थात् दुई खर्ब ४३ अर्ब ९६ करोड रुपैयाँ मात्र असुल गर्न सफल भएको हो।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब २५ अर्ब ७३ करोड ४९ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा १८ अर्ब २२ करोड ९६ लाख ५३ हजार रुपैयाँले राजस्व वृद्धि भएको देखिन्छ।

यद्यपि, कार्यालयले आर्थिक वर्षभर कुनै पनि महिनामा विभागले निर्धारण गरेको मासिक राजस्व लक्ष्य हासिल गर्न सकेन। साउनदेखि असारसम्म सबै महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयात घट्नु, विद्युतीय (इभी) सवारीसाधनको आयात बढे पनि अन्य सवारीसाधनको आयातमा कमी आउनु तथा समग्र व्यापार विस्तार अपेक्षाअनुसार हुन नसक्नु लक्ष्य पूरा हुन नसक्नुका प्रमुख कारण हुन्।

२०८२ साउन १ गतेदेखि वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एकआपसमा गाभिएर एउटै वीरगन्ज भन्सार कार्यालयका रूपमा सञ्चालनमा आएका छन्। हाल यस कार्यालयअन्तर्गत मटिअर्वा, सिर्सिया, पिपरपाती, सिम्रौनगढ, भिस्वा अमृतधारा (ठोरी), कवही, कचोर्वा, अलौ, गाढप्रसौनी र जानकीटोला लगायत ११ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेका छन्।

देशको कुल भन्सार राजस्वको करिब ४६ देखि ४८ प्रतिशत योगदान दिने वीरगन्ज नाका हुँदै भारतका साथै तेस्रो मुलुकसँग आयात–निर्यात हुने गरेको छ।

यस नाकाबाट सवारीसाधन तथा तिनका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एलोपेथिक औषधि, विद्युतीय उपकरण, खाद्यान्न, प्लास्टिकका कच्चा पदार्थ, फलामजन्य सामग्री, औद्योगिक मेसिनरी, कोइला तथा अन्य कच्चा पदार्थ आयात हुने गरेका छन्।

त्यसैगरी, भटमास र सूर्यमुखीको प्रशोधित तेल, फलफूलको जुस, फलामजन्य सामग्री, सेन्थेटिक यार्न, कपडा, पशु आहारका कच्चा पदार्थ, आयुर्वेदिक औषधि तथा घरपालुवा जनावरका लागि प्रयोग हुने खाद्य सामग्रीलगायतका वस्तु वीरगन्ज नाका हुँदै निर्यात हुने गरेका छन्।

 
 
सम्बन्धित समाचार