नेपालगञ्जमा चार लाख भारतीय रुपैयाँसहित एक पक्राउ

3k Shares

नेपालगञ्ज । बाँके प्रहरीले अवैध कारोबारमा संलग्न रहेको आरोपमा नेपालगञ्ज बसपार्क क्षेत्रबाट चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसपार्कस्थित न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई बुधबार भारतीय ५०० दरका ८०० थान नोटसहित पक्राउ गरिएको हो।

प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा लुकाएर राखिएको अवस्थामा भारतीय रुपैयाँ बरामद गरिएको हो। प्रहरीले राउतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले नेपालमा भारतीय ५०० दरका नोटको कारोबार प्रतिबन्धित रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

यता, न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले भने जाजरकोटका छ जना ठेकेदारअन्तर्गत काम गर्ने करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम सङ्कलन गरी सटहीका लागि कर्मचारीमार्फत पठाइएको दाबी गरेका छन्।

सम्बन्धित समाचार