आज पनि वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
2.6k
Shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले भारी वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्ने, बाढी, पहिरो र भू–क्षयको जोखिम रहने चेतावनी दिएको छ। साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला मौसम अपडेट नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।