सरकारले एकीकृत बनायो राष्ट्रिय किताबखाना एउटै संरचनामा

918 Shares

काठमाडौं । सरकारले राष्ट्रिय किताबखानाको संरचनामा परिवर्तन गर्दै निजामती, शिक्षक र प्रहरी किताबखानालाई एकीकृत गरेको छ। आर्थिक वर्ष २०८३/८४ को साउनदेखि लागू हुने गरी तीनवटै किताबखानालाई एउटै संस्थाअन्तर्गत ल्याएर ‘राष्ट्रिय किताबखाना’ नाम दिइएको हो।

नवगठित राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार यसअघि राष्ट्रिय किताबखाना (निजामती) अन्तर्गत राष्ट्रिय किताबखाना (शिक्षक) र राष्ट्रिय किताबखाना (प्रहरी) रहे पनि नीति, कार्यक्रम, बजेट र कर्मचारी व्यवस्थापन सम्बन्धित मन्त्रालयमार्फत छुट्टाछुट्टै सञ्चालन हुँदै आएको थियो।

उनका अनुसार कर्मचारीको सरुवा, खटनपटन र प्रशासनिक व्यवस्थापन सम्बन्धित मन्त्रालयबाट हुने व्यवस्थाका कारण तीनवटै किताबखानाबीच प्रभावकारी समन्वय र एकीकृत कमान्ड प्रणाली कायम हुन सकेको थिएन।

नयाँ व्यवस्थाअनुसार गृह मन्त्रालय तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयबाट प्राप्त हुने बजेटसमेत राष्ट्रिय किताबखानाका महानिर्देशकको निर्देशनमा खर्च गर्न सकिनेछ। यद्यपि त्यसको समग्र जिम्मेवारी र जवाफदेहिता भने महानिर्देशककै रहने व्यवस्था गरिएको छ।

सरकारले अब राष्ट्रिय किताबखाना (शिक्षक) र राष्ट्रिय किताबखाना (प्रहरी) लाई राष्ट्रिय किताबखानाका शाखाका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, ती दुवै शाखामा रहेका उपमहानिर्देशक पद खारेज गरी निर्देशक पद मात्रै कायम गरिएको छ।

यसअघि तत्कालीन सरकारले २०७५ जेठ ४ गते नै राष्ट्रिय किताबखाना (निजामती), राष्ट्रिय किताबखाना (शिक्षक) र राष्ट्रिय किताबखाना (प्रहरी) लाई एकीकृत गर्ने निर्णय गरेको थियो। तर प्रशासनिक भवनको अभावका कारण एकीकृत संरचना बने पनि तीनवटै कार्यालय फरक–फरक स्थानबाट सञ्चालन हुँदै आएका थिए।

सरकारले नयाँ व्यवस्थासँगै किताबखानाको प्रशासनिक सञ्चालन, बजेट व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी तथा एकीकृत बनाउने अपेक्षा गरेको छ।

755033447_10165464769711468_4730113576394919809_n.jpg

सम्बन्धित समाचार