सरकारी कार्यालयको नयाँ समय प्रभावकारी, बिहानै सेवा लिन सेवाग्राहीको भीड

1.3k Shares

काठमाडौं । सरकारले सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था लागू गरेपछि दैनिक सेवाग्राहीको चाप हुने कार्यालयमा सेवा प्रवाह सहज बन्दै गएको छ।

बिहानै सेवा लिन आउने सेवाग्राहीको संख्या बढेसँगै दिउँसोको भीड पनि कम हुन थालेको सरकारी कार्यालयहरूको अनुभव छ।

विशेषगरी मालपोत, नापी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग तथा स्थानीय तहमा नयाँ कार्यालय समयले सेवाग्राहीलाई छिटो र सहज सेवा लिन सहयोग पुगेको सम्बन्धित कार्यालयहरूले बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोटका रवीन न्यौपानेले भाइको राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुग्दा सेवा पहिलेभन्दा छिटो र व्यवस्थित भएको अनुभव सुनाए।

“बिहान ९ बजेदेखि नै सेवा सुरु हुँदा दिउँसो अन्य काममा जानुपर्नेहरूका लागि धेरै सहज भएको छ। बिहानै पुगेर काम सकाउन पाएपछि समयको पनि बचत हुन्छ,” उनले भने।

यस्तै, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ का लक्ष्मी खत्रीले काठमाडौं जिल्ला प्रशासन कार्यालयअन्तर्गतको राहदानी वितरण शाखामा बिहानै सेवा लिँदा कम भीड र छिटो सेवा पाएको बताए।

“कार्यालय पुग्दा भिड कम थियो। सेवा पनि छिटो भयो र काम सकिएपछि अन्य व्यक्तिगत काम गर्न पनि समय मिल्यो,” उनले भने।

बिहानको सेवाले दिउँसोको चाप घटायो

राहदानी वितरण शाखाका प्रमुख जनक कोइरालाका अनुसार सुरुआती दिनमा बिहान सेवाग्राहीको संख्या कम भए पनि अहिले बिहान ९ बजेदेखि नै उल्लेख्य संख्यामा सेवाग्राही कार्यालय पुग्न थालेका छन्।

उनका अनुसार बिहानै सेवा लिन आउनेको संख्या बढेपछि दिउँसो हुने भीड घटेको छ र सेवाप्रवाहलाई थप व्यवस्थित बनाउन सहज भएको छ।

राष्ट्रिय परिचयपत्रका लागि बिहानैदेखि भीड

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले पनि नयाँ कार्यालय समयको सकारात्मक प्रभाव देखिएको बताए।

उनका अनुसार राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राही अहिले बिहानैदेखि कार्यालय पुग्न थालेका छन्। सुरुमा बिहान आउनेको संख्या कम रहे पनि विस्तारै सेवाग्राही नयाँ समयअनुसार अभ्यस्त हुँदै गएको उनले बताए।

नयाँ कार्यालय समय कहिलेदेखि?

सरकारले २०८२ चैत २३ गतेदेखि सबै सरकारी कार्यालय सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो।

सरकारी निकायहरूका अनुसार नयाँ कार्यालय समयले सेवा वितरणलाई थप प्रभावकारी बनाएको छ भने सेवाग्राहीले पनि आफ्नो समय व्यवस्थापन गर्न सहज महसुस गर्न थालेका छन्।

सम्बन्धित समाचार