काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा सहभागी हुँदै नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।
शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भर्चुअल संवाद गर्दै उनले विदेशमा रहेका नेपालीलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो दलको दृष्टिकोणमा विश्वस्त रहन आग्रह गरेका हुन्।
अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीलाई नेपालको ‘सद्भावनादूत’को संज्ञा दिँदै देशप्रतिको जिम्मेवारी पूरा गर्न लगानीमार्फत योगदान दिनुपर्ने बताए। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न सुधारका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै उनले त्यसमा प्रवासी नेपालीको साथ र सहयोग महत्त्वपूर्ण हुने बताए।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत कर, राजस्व तथा उद्योगमैत्री नीतिहरू कार्यान्वयनमा ल्याइएकाले लगानीका लागि वातावरण थप सहज बनेको छ। लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल पनि कानुनी व्यवस्थाअनुसार सहज रूपमा फिर्ता लैजान सक्ने उनले स्पष्ट पारे।
वाग्लेले सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालन जस्ता नयाँ अवधारणालाई अघि सारेको उल्लेख गर्दै ती कार्यक्रमको उद्देश्य प्रवासी नेपालीको पूँजी र अनुभवलाई नेपालको विकाससँग जोड्नु रहेको बताए।
उनले विदेशमा रहेका नेपालीको लगानी, सीप र अनुभव नेपालको आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण हुने भन्दै सरकार निजी क्षेत्र र गैरआवासीय नेपालीसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताए।