आज पनि देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

1.7k Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर वर्षा हुने अवस्था बनेको जनाएको छ।

महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, मधेश तथा कोशीका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

 
 
सम्बन्धित समाचार