आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, परीक्षण अवधिमा निःशुल्क यात्रा
2.1k
Shares
काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन हुँदै छ। उद्घाटनसँगै सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ भने केही दिन परीक्षण सञ्चालनपछि सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिने तयारी गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायत उच्च अधिकारीको उपस्थितिमा बिहान १०ः२५ बजे सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा यातायात सञ्चालनको शुभारम्भ गर्नेछन्। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सञ्चालन अनुमति दिइनेछ।
केही दिन सुरक्षा प्रणाली र ट्राफिक व्यवस्थापनको परीक्षण गरिएपछि अन्य सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने सडक विभागले जनाएको छ।
कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्ग नियमित सञ्चालनमा आएपछि सवारीसाधनका लागि शुल्क निर्धारण गरिएको छ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ। ठूला बस र ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ।
पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश गर्न अनुमति दिइने छैन।
आयोजनाअन्तर्गत मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुईवटा सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने आकस्मिक उद्धारका लागि छुट्टै उद्धार सुरुङ प्रयोग गरिनेछ।
जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको सुरुङमार्गमा सीसीटीभी, दमकल, आकस्मिक उद्धार प्रणाली, सञ्चार सुविधा, सुरक्षा संयन्त्र तथा अक्सिजन आपूर्ति प्रणाली जडान गरिएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकको टोटीपाखाबाट सुरु हुने सुरुङ धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा निस्किन्छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो सडकको समस्या कम हुने तथा यात्रुको करिब एक घण्टा समय र इन्धन बचत हुने अपेक्षा गरिएको छ।
आयोजनामा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारी तथा अन्य प्राविधिक जटिलताका कारण परियोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।
सुरुङमार्गमा विद्युतीय माध्यमबाट शुल्क भुक्तानीको व्यवस्था गरिएको छ भने सञ्चालन र व्यवस्थापनका लागि आवश्यक प्राविधिक तथा सुरक्षा जनशक्ति परिचालन भइसकेको छ।