सुनसरी हिंसाः कमान्डविहीन सुरक्षाबीच गोली चल्दा एकको मृत्यु, नेतृत्व व्यवस्थापनमाथि प्रश्न

1.7k Shares

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का आठ गणका गणपतिको कार्यकाल सकिएपछि समयमै नयाँ कमान्डर खटाउन नसकिएको अवस्थामा सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक तनाव हिंसात्मक बनेको छ।

घटनामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक सर्वसाधारणको मृत्यु भएको छ भने १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। सुरक्षा संयन्त्रभित्र नेतृत्व व्यवस्थापनमा भएको ढिलाइले फिल्ड कमान्ड कमजोर बनेको आरोप लागिरहेका बेला सीमावर्ती संवेदनशील जिल्ला सुनसरीमा यस्तो घटना भएको हो।

स्थानीयवासी र सुरक्षा स्रोतले स्पष्ट कमान्डको अभाव तथा समन्वय कमजोरीले सामान्य विवादलाई नियन्त्रणबाहिर पुर्‍याएको दाबी गरेका छन्।

गृहमन्त्री सुधन गुरुङले गत असार अन्तिम साता पूर्वी नेपाल भ्रमणका क्रममा तस्करी नियन्त्रणमा कमजोरी देखिएको भन्दै सुनसरी र झापाका सशस्त्र प्रहरी प्रमुखलाई मुख्यालय फिर्ता बोलाउन निर्देशन दिएका थिए। त्यसअनुसार असार ३० गते सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण इनरुवाका एसपी श्याम कार्कीलाई मुख्यालय तानिएको थियो। तर, उनको स्थानमा हालसम्म नयाँ गणपति खटाइएको छैन।

यस्तै झापाका एसपी अम्बिका प्रसाद जोशीलाई पनि मुख्यालय बोलाइएपछि त्यहाँ पनि नयाँ कमान्डर नियुक्त गरिएको छैन। सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार संवेदनशील जिल्लामा लामो समय नेतृत्व रिक्त राख्नु सुरक्षा व्यवस्थापनका दृष्टिले गम्भीर कमजोरी हो।

भारतसँग सीमा जोडिएको सुनसरी लागुऔषध र अन्य अवैध कारोबारका दृष्टिले संवेदनशील जिल्ला मानिन्छ। यस क्षेत्रमा विगतदेखि नै धार्मिक तथा सामुदायिक विवाद पनि दोहोरिने गरेका छन्। यस्ता चुनौतीबीच जिम्मेवार गणको नेतृत्व लामो समय खाली रहनुले सुरक्षा जोखिम बढाएको अधिकारीहरूको भनाइ छ।

सशस्त्र प्रहरी नियमावलीअनुसार गणपतिको सरुवा गर्ने अधिकार महानिरीक्षकलाई भए पनि गृहमन्त्री र संगठन नेतृत्वबीच समन्वय नहुँदा कार्यकाल सकिएका आठ गणका गणपतिको सरुवा रोकिएको बताइएको छ।

यही अवस्थाबीच आइतबार राति देवानगञ्जको कप्तानगञ्ज क्षेत्रमा बोलबम यात्रामा बजाइएको डिजेलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विवाद बढ्दै जाँदा दुवै पक्षका मानिस ढुंगा, लाठी, चिर्पट र भालासहित सडकमा उत्रिएका थिए। प्रारम्भिक चरणमा पुगेको प्रहरी टोलीले अवस्था नियन्त्रण गर्न नसकेपछि झडप चर्किएको थियो।

घटनामा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित आठ नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भएका छन्। प्रहरी निरीक्षक राईले तीन राउन्ड हवाई फायर गरे पनि भीड नियन्त्रणमा आउन सकेन। त्यसपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। अन्य केही घाइतेलाई पनि पेट, छाती र शरीरको माथिल्लो भागमा गोली लागेको स्थानीयले बताएका छन्।

प्रहरी स्रोतका अनुसार गणपतिको सरुवा र कार्यसम्पादनलाई लिएर गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलबीच मतभेद कायम रहेकाले केही संवेदनशील क्षेत्रमा नेतृत्व अन्योलमा परेको छ। स्थानीय तथा राजनीतिक प्रतिनिधिले पर्याप्त भीड नियन्त्रणका उपाय अपनाउनुअघि नै घातक बल प्रयोग गरिएको आरोप लगाएका छन्।

घटनापछि कोशी प्रदेश प्रहरी गण तथा जिल्लाका विभिन्न सुरक्षा इकाइबाट ३७६ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

घटनास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले सुरक्षाकर्मीले भीड नियन्त्रणका क्रममा अत्यधिक र घातक बल प्रयोग गरेको आरोप लगाए। घाइतेहरूको शरीरको माथिल्लो भागमा गोली लागेको उल्लेख गर्दै उनले बल प्रयोगको प्रकृतिमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

सांसद थापाले घटनालाई धार्मिक रंग दिन खोजिएको हो कि भन्ने आशंका व्यक्त गर्दै सरकारले संयमता अपनाई थप तनाव फैलिन नदिन आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

सम्बन्धित समाचार