नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई मात्र प्रवेश

2.4k Shares

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङ सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। सुरुङमार्गको सञ्चालन भने प्रारम्भिक चरणमा परीक्षणका रूपमा गरिने भएकाले सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिइने भएको छ।

सरकारले केही समय परीक्षण सञ्चालन गरेपछि मात्रै सर्वसाधारणका सवारीसाधनका लागि सुरुङमार्ग पूर्ण रूपमा खुला गर्ने तयारी गरेको छ। परीक्षण अवधिमा सुरुङभित्रको सुरक्षा प्रणाली, उद्धार संयन्त्र, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रणालीको मूल्यांकन गरिनेछ।

काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोलालाई जोड्ने यो सुरुङ २ हजार ६८८ मिटर लामो छ। यससँगै २ हजार ५५७ मिटर लामो आपत्कालीन उद्धार सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे खण्डको यात्रा दूरी करिब ३ किलोमिटरले छोटिने र यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

Naghdhunga-surung-udaghtan-7-1024x683.jpg

सुरुङभित्र अत्याधुनिक भेन्टिलेसन, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण प्रणाली, आपत्कालीन उद्धार मार्ग, डिजिटल ट्राफिक व्यवस्थापन तथा अन्य सुरक्षा उपकरण जडान गरिएको छ। दुईपांग्रे, पैदलयात्री, तीनपांग्रे तथा ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङ प्रयोग गर्न अनुमति नदिने व्यवस्था गरिएको छ।

सुरुङमार्ग पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आएपछि सरकारले तोकेको शुल्कअनुसार टोल संकलन गरिनेछ। परीक्षण अवधिमा भने सर्वसाधारणका सवारीका लागि सञ्चालन खुला नहुने भएकाले टोल पनि लागू हुने छैन।

सम्बन्धित समाचार