वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले विभिन्न पाँचबुँदे माग राख्दै कैलालीको धनगढीबाट सुरु गरेको आफ्नो २४औँ सत्याग्रह (अनशन) आज तोडेका छन्।
सरकार र डा. केसी पक्षबीच माग सम्बोधनका विषयमा सहमति जुटेपछि उनले अनशन अन्त्य गरेका हुन्। अनशन तोडेसँगै स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक उपचारका लागि चिकित्सकीय निगरानीमा राखिएको जनाइएको छ।
डा. केसीले यसअघि चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवामा सुधार, छात्रवृत्ति व्यवस्थापन, मापदण्डविपरीत सिट वृद्धि रोक्नेलगायत पाँचबुँदे माग अघि सार्दै साउन ७ गतेदेखि धनगढीमा सत्याग्रह सुरु गरेका थिए। सरकारले माग सम्बोधनमा पहल गर्ने प्रतिबद्धता जनाएपछि उनले अनशन तोड्ने निर्णय गरेका हुन्।