लागुऔषध तस्करीमा संलग्न तीन जना पक्राउ, ट्रक र मोटरसाइकल पनि नियन्त्रणमा

2.1k Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल, बा.प्र.०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, डीएसी ३९१८ नम्बरको टाटा कम्पनीको ट्रक (हात्ती गाडी), तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, नगद, सवारीसाधन र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार