सेप्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुरको ज्यान गयो

1.9k Shares

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

बुधबार बिहान करिब ९ बजे स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीमा काम गरिरहेका मजदुरहरू अचानक फसेका थिए। उनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले जेसिबीको सहायताले सेप्टिक ट्यांकी फुटाएर तीनै जनालाई बाहिर निकालेको थियो। उद्धारपछि उनीहरूलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

घटनापछि तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

प्रारम्भिक रूपमा सेप्टिक ट्यांकीभित्र जमेको विषालु ग्यासका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको भए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार