देवानगन्ज घटना : अवस्था सामान्य बन्दै, सेनाको गस्ती कडा, मृतक परिवारलाई २ लाख राहत

1.4k Shares

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाको चौथो दिन बुधबार जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुरक्षा व्यवस्था थप कडा पारिनु, स्थानीय समुदायको संयमता तथा विभिन्न पक्षबाट शान्ति र सद्भाव कायम गर्ने पहलका कारण जनजीवन विस्तारै सहज बन्दै गएको हो।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै नेपाली सेनालाई पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सेनाले बजार, बस्ती तथा प्रमुख सडक र राजमार्गमा बाक्लो गस्ती बढाएपछि बुधबार जिल्लामा कुनै अप्रिय घटना नभएको सुरक्षा निकायले जनाएको छ।

यसैबीच सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ। समितिले दिनभर घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवार, प्रत्यक्षदर्शी, स्थानीयवासी, प्रशासन र सुरक्षा निकायसँग छलफल गरी घटनासम्बन्धी प्रमाण तथा तथ्य सङ्कलन गरेको छ।

समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा रहेको टोली देवानगन्ज–३ कप्तानगन्ज पुगेर घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको थियो। भेटका क्रममा मृतकका बुवा किसुनदेव मेहताले आफ्नो छोरालाई सहिद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा सम्पूर्ण समुदायको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

संयोजक थापाले पीडितको गुनासो, स्थानीयको धारणा र घटनाको वास्तविक अवस्था बुझ्ने काम सुरु गरिएको बताउँदै निष्पक्ष अनुसन्धानपछि यथार्थ प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने जानकारी दिए। समितिले देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहतासँग पनि छलफल गरेको छ।

इटहरीमा बृहत् सद्भाव र्‍याली

घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नागरिक समाज इटहरीको आयोजनामा बुधबार इटहरीमा बृहत् सद्भाव र्‍याली निकालिएको छ।

इटहरी चोकबाट सुरु भएको र्‍यालीमा नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दल, हिन्दु, मुस्लिम र क्रिस्चियन समुदायका अगुवा, उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता, बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायबीचको आपसी विश्वास, सम्मान र सहअस्तित्वलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

पूर्वमन्त्री रामकुमार सुब्बाले पछिल्ला घटनालाई आधार बनाएर समाजमा भ्रम, अविश्वास र विभाजन फैलाउने प्रयास हुन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरे।

नागरिक समाज इटहरीका अध्यक्ष आरके कोयु राईले कुनै पनि बहानामा धार्मिक वा साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधि स्वीकार्य नहुने बताए। सामाजिक अभियन्ता कमलेश शर्मा पौडेलले विविधताबीचको एकता नेपाली समाजको पहिचान भएकाले त्यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

हरिनगरमा सर्वदलीय बैठक

उता मुस्लिम बाहुल्य रहेको हरिनगर गाउँपालिकामा सर्वदलीय तथा सर्वपक्षीय भेला आयोजना गरिएको छ। भेलामा सहभागीहरूले देवानगन्ज घटनापछि सामाजिक सञ्जालमार्फत फैलाइएका अपुष्ट सूचना र अफवाहले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भन्दै तथ्य पुष्टि गरेर मात्रै अभिव्यक्ति दिन र सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरेका छन्।

गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँले शान्ति, कानुनी शासन र सामाजिक सद्भाव कायम राख्न सबै समुदाय, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।

मृतक परिवारलाई २ लाख राहत

यसैबीच कोशी प्रदेश सरकारले घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने घोषणा गरेको छ।

विराटनगरमा बुधबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देवानगन्ज तथा आसपासका क्षेत्रमा सुरक्षा अवस्था सामान्य बनाउन सुरक्षा निकाय र राजनीतिक दललाई थप सक्रिय रहन आग्रह गरे। उनले यस्ता संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव बिथोल्ने प्रयास हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने बताए।

बैठकमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक शेखर खनालले घटनामा संलग्न भई अराजक गतिविधिको नेतृत्व गर्ने व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जानकारी दिएका थिए।

मुख्यमन्त्री कार्कीका अनुसार घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिइनेछ भने आगलागी वा तोडफोडबाट घर, पसल तथा अन्य भौतिक संरचनामा क्षति पुगेका पीडितलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने निर्णय प्रदेश सरकारले गरेको छ।

देवानगन्ज घटनापछि सुरक्षा संयन्त्र, छानबिन प्रक्रिया र सामाजिक तहबाट भएका शान्ति स्थापनाका प्रयासले सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनको निष्कर्ष छ।

सम्बन्धित समाचार