वर्षाले सडक सञ्जाल अस्तव्यस्त, धेरै राजमार्गमा यातायात बन्द
890
Shares
काठमाडौँ, साउन १४ – लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा सडक कटानका कारण प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ७:५० बजेसम्मको विवरण सार्वजनिक गर्दै कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गतको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको उच्च जोखिम रहेकाले दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, कान्तिलोकपथ मा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यता इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्ग को जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित लामासाँघु–रामेछाप सडक मा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङ ल्हामु राजमार्ग मा त्रिशूली नदीको कटानका कारण सडक सञ्चालन हुन सकेको छैन।
ललितपुरको बागमती गाउँपालिका–३ मा पर्ने कान्तिलोकपथ मा सुक्खा पहिरो खसेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै जाजरकोट–डोल्पा सडक अन्तर्गत मूलपानी खोला मा आएको बाढीले सडक बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै उच्च रहेकाले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।