काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानका उपाय खोज्न वार्ता समिति गठन गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार लघुवित्त पीडितले उठाउँदै आएका मागबारे छलफल गर्न तथा सहमतिमार्फत समाधानको पहल गर्न समिति गठन गरिएको हो। पछिल्ला केही दिनदेखि देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्दै सरकारसँग वार्ताको माग गरिरहेका छन्।
समितिले आन्दोलनरत पक्षसँग औपचारिक संवाद गर्ने, उनीहरूको माग अध्ययन गर्ने र व्यवहारिक समाधानका लागि सरकारलाई सुझाव पेश गर्ने जिम्मेवारी पाएको जनाइएको छ।
लघुवित्त पीडितहरूले ऋण तथा ब्याज पुनर्संरचना, चर्को तथा चक्रवृद्धि ब्याज नियन्त्रण, विगतका अध्ययन प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन, र वित्तीय संस्थाबाट भएको भनिएको शोषण अन्त्यलगायतका माग राख्दै माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरिरहेका छन्।
यसअघि आन्दोलनरत पक्षले आफ्ना माग पूरा नभएको भन्दै आमरण अनशनसमेत सुरु गरेको थियो। उनीहरूले सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाएका छन्।
सरकारले वार्ता समितिमार्फत संवाद अघि बढाएर आन्दोलनको शान्तिपूर्ण समाधान खोज्ने अपेक्षा गरेको छ। अब समितिले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता सुरु गरी आवश्यक सुझाव अर्थ मन्त्रालयलाई बुझाउनेछ।