बुटवल । रुपन्देहीको बुटवलमा नागरिक समाजले शान्ति, सामाजिक सद्भाव र आपसी एकताको सन्देश दिँदै सद्भाव र्याली आयोजना गरेको छ।
र्यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघ–संस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, कानुन व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले समाजमा हिंसा, विभाजन र वैमनस्य फैलाउने गतिविधि अन्त्य गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विविधता नै नेपालको शक्ति भएकाले सबै समुदायबीच पारस्परिक सम्मान र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखे।
र्यालीका क्रममा सहभागीहरूले सामाजिक एकता कायम राख्न, कानुनी शासनको सम्मान गर्न तथा कुनै पनि प्रकारको उक्साहट र हिंसात्मक गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका थिए। साथै, राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबैको साझा दायित्व रहेको उनीहरूको भनाइ थियो।
पछिल्लो समय देशका केही क्षेत्रमा देखिएको सामाजिक तनाव र हिंसात्मक घटनापछि नागरिक तहबाट सद्भाव र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्।