दूरसञ्चार क्षेत्रमा ‘अभूतपूर्व विकास’ गर्ने सरकारको लक्ष्य: मन्त्री तिमिल्सिना
1.1k
Shares
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले चालु आर्थिक वर्षमा दूरसञ्चार क्षेत्रमा अभूतपूर्व विकास गर्ने लक्ष्य राखेको बताएका छन्। उनले नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी रूपमा परिचालन गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधार देखिने परिणाम ल्याउन निर्देशन दिएका छन्।
सिंहदरबारमा बिहीबार आयोजित मन्त्रालय र मातहतका निकायको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तार सरकारको प्रमुख प्राथमिकता रहेको बताए।
उनले ४ जी सेवाको पहुँच र गुणस्तर सुधार तथा ५ जी कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै यस वर्ष नेपालमा दूरसञ्चार क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको सन्देश जाने गरी काम गर्नुपर्ने बताए।
मन्त्री तिमिल्सिनाले सरकारी संयन्त्रमा नीतिभन्दा कार्यान्वयन कमजोर हुने प्रवृत्तिलाई सुधार गर्नुपर्ने उल्लेख गर्दै एक दिनको गम्भीरताले मात्रै समस्या समाधान नहुने बताए। उनले विगतका अनुभवबाट सिक्दै निर्माण भएका नीति र संयन्त्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
उनले प्रक्रियाभन्दा नतिजालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आवश्यक काममा मन्त्रालयहरूबीच समन्वय र तत्काल निर्णयको अभ्यास भइरहेको उल्लेख गरे। कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि त्यसकै नाममा काम ढिलाइ हुन नहुने उनको भनाइ थियो।