काठमाडौँ । देशका विभिन्न भागमा देखिएको तनावपूर्ण अवस्थाका बीच प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग छुट्टाछुट्टै संवाद गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई बोलाएर देशका विभिन्न स्थानमा विकसित विषम परिस्थितिबारे जानकारी लिएका हुन्।
पछिल्ला दिनमा विभिन्न जिल्लामा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले शान्ति–सुरक्षाको अवस्थाप्रति चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले सरकारले शान्ति–सुव्यवस्था कायम गर्न गरिरहेका प्रयास, सुरक्षा निकायको परिचालन तथा परिस्थिति सामान्य बनाउने दिशामा चालिएका कदमबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले भने राजनीतिक दल, स्थानीय नेतृत्व र सरोकारवाला सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक परिस्थिति व्यवस्थापन गर्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न विशेष ध्यान दिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

यसैबीच, प्रधानमन्त्री शाहले बिहीबार साँझ उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोनमार्फत पनि संवाद गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार टेलिफोन संवादका क्रममा मुलुकको समसामयिक अवस्था, आपसी समन्वय तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा दुवै नेताबीच विचारविमर्श भएको थियो।
देशका विभिन्न जिल्लामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन सरकार सक्रिय रहेको र सबै संवैधानिक निकायबीच निरन्तर समन्वय भइरहेको सन्देशका रूपमा प्रधानमन्त्रीका यी संवादलाई हेरिएको छ।