काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोपछि नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहितको टोली सम्पर्कविहीन भएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पौडेलले उक्त घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै टोलीको खोजी तथा उद्धारमा संलग्न पाकिस्तानी अधिकारीहरूसँग नेपाल सरकार नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन्।
‘पाकिस्तानमा हिमपहिरो गएको र निर्मल पुर्जा ‘निम्स दाइ’ तथा अन्य नेपाली आरोहीहरूसँग सम्पर्कविहीन भएको खबरले हामी गहिरो चिन्तित छौँ,’ मन्त्री पौडेलले लेखेका छन्। ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ र घटनाक्रमबारे अद्यावधिक जानकारी प्राप्त गरिरहेका छौँ।’
उनले सम्पर्कविहीन आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवारप्रति पनि ऐक्यबद्धता व्यक्त गरेका छन्।
‘हाम्रा विचार र शुभेच्छा आरोहीहरू तथा उनीहरूका परिवारसँग छन्। हामी सबै उनीहरू सुरक्षित रूपमा फर्किने आशामा छौँ,’ मन्त्री पौडेलले उल्लेख गरेका छन्।
पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको हो। टोलीको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।