करदाता प्रोत्साहन उपहार कार्यक्रमबारे ग्राहकलाई जानकारी दिन राष्ट्र बैंकको निर्देशन
1.7k
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा सञ्चालन गर्न भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उक्त कार्यक्रम आगामी साउन २१ गतेदेखि सञ्चालनमा आउने भएकाले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूले आफ्ना सबै ग्राहकलाई यसबारे समयमै जानकारी गराउनुपर्नेछ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीका अनुसार कार्यक्रममा सहभागी हुन मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने अवस्था भए त्यसबारे पनि ग्राहकलाई स्पष्ट सूचना पठाउन आग्रह गरिएको छ।
यसैगरी, भुक्तानी सेवा प्रदायकहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (FAQ) को छुट्टै खण्ड समावेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले कार्यक्रमबारे आवश्यक जानकारी तथा सचेतनामूलक सूचना साउन १६ गतेदेखि नै ग्राहकसम्म प्रवाह गर्न पनि निर्देशन दिएको छ।
राष्ट्र बैंकका अनुसार कार्यक्रम सञ्चालनका क्रममा ग्राहकलाई सहज सूचना उपलब्ध गराउने, आवश्यक प्राविधिक तयारी पूरा गर्ने तथा कार्यक्रमबारे पर्याप्त जानकारी दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।