काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनापछि कोशी र मधेश प्रदेशमा बढेको तनावबीच प्रधानमन्त्री बालेन्द्र शाहले मधेशकेन्द्रित राजनीतिक दलका नेतासँग खुला संवाद गर्दै सरकारको भूमिकाबारे स्पष्टीकरण दिएका छन्।
शुक्रबार सिंहदरबारमा भएको लामो छलफलमा प्रधानमन्त्री शाहले सरकार ढिलो बोलेको विषय स्वीकार्दै आफूबाट पनि केही कमजोरी भएको बताएका छन्।

छलफलमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री शाहले आफूलाई संघीयता, लोकतन्त्र र संविधानविरोधी ठान्न नहुने स्पष्ट पार्दै संविधानप्रति पूर्ण इमानदार र प्रतिबद्ध रहेको बताएका थिए।
‘मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला। लोकतन्त्र र संविधानप्रति पूर्ण इमानदार र वफादार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताहरूले बताएका छन्।
प्रधानमन्त्री शाहले सुनसरीको घटनाले मधेशका विभिन्न जिल्ला र कोशी प्रदेशसम्म यति ठूलो तनाव सिर्जना गर्छ भन्ने अनुमान आफूले पनि नगरेको स्वीकार गरेका छन्।
उनले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरेर अनुसन्धान भइरहेकाले केही दिन सार्वजनिक रूपमा नबोलेको उल्लेख गर्दै त्यस अवधिमा आफू निष्क्रिय नरहेको दाबी गरे।
‘प्रधानमन्त्री पाँच दिनसम्म सुत्यो भन्ने आरोप सही होइन। आइतबार रातिदेखि नै मेरो गम्भीर ध्यानाकर्षण भएको थियो,’ उनले भनेका छन्।
बैठकमा मधेशवादी नेताहरूले हिन्दू राज्य र राजतन्त्रबारे पनि प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री शाहले आफू हिन्दू राज्य वा राजतन्त्र पुनःस्थापनाको पक्षमा नरहेको स्पष्ट पारे।
उनका अनुसार हिन्दू राज्यको अवधारणा राजतन्त्रसँग जोडिने भएकाले त्यसले संघीय व्यवस्थालाई कमजोर बनाउने जोखिम रहन्छ।
‘हामी राजा फर्काउने पक्षमा छैनौँ। संघीयतालाई सफल बनाउँदै अझ प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको छ,’ उनले बताएका छन्।
प्रधानमन्त्री शाहले प्रदेश संरचना खारेज गर्ने कुनै योजना नरहेको पनि स्पष्ट पारे। बरु प्रदेशलाई कसरी प्रभावकारी र अधिकारसम्पन्न बनाउने भन्ने विषयमा सरकार केन्द्रित रहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले पछिल्लो घटनालाई केवल धार्मिक समुदायबीचको द्वन्द्वका रूपमा मात्रै नहेरेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा परिषद्मा समेत विभिन्न कोणबाट अनुसन्धान गर्नुपर्ने सुझाव आएको जानकारी दिएका थिए।
उनले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।
साथै, कम्मरमाथि गोली किन चलाइयो भन्ने विषयमा सरकारले सुरक्षा निकायसँग जवाफ मागिरहेको र त्यसबारे निष्पक्ष छानबिन हुने आश्वासन पनि उनले दिएका छन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफ्नो कुनै मतभेद नरहेको पनि स्पष्ट पारे।
उनका अनुसार सर्वदलीय बैठक बोलाउने विषयमा दुवैबीच छलफल भएर सहमतिअनुसार जिम्मेवारी बाँडफाँट गरिएको थियो।
प्रधानमन्त्री शाहले मधेशका नेताहरूलाई आफ्ना-आफ्ना क्षेत्रमा फर्किएर शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन्। हिंसा भड्काउने र अशान्ति फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै उनले देशको पछिल्लो अवस्थालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न पनि सबै पक्षसँग आग्रह गरेका छन्।