दुर्गम क्षेत्रमा सेनाको योगदान : ३२ सडक आयोजना सम्पन्न

5.4k Shares

काठमाडौँ । नेपाली सेनाले जटिल भू–बनोट भएका ३२ वटा सडक आयोजना सम्पन्न गर्दै हालसम्म १ हजार ४११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको जनाएको छ। सेनाको व्यवस्थापनमा कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलगायतका महत्वपूर्ण आयोजना सम्पन्न भएका छन्।

सरकारले दुर्गम तथा रणनीतिक महत्त्वका क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भिर तथा निर्माण गर्न चुनौतीपूर्ण सडक आयोजनाको जिम्मेवारी नेपाली सेनालाई दिँदै आएको छ। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सीमित स्रोतसाधन, प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद सेनाले राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गर्दै वार्षिक लक्ष्य शतप्रतिशत पूरा गरिरहेको छ।

पूर्वी नेपालको रणनीतिक महत्त्व बोकेको खाँदबारी–किमाथाङ्का सडक आयोजनाअन्तर्गत च्याम्ताङ–घोङ्घप्पा खण्डमा सेनाले १०.५१ किलोमिटर सडक निर्माण सम्पन्न गरी गत वैशाख २८ गते सडक विभागलाई हस्तान्तरण गरेको छ। यस सडकले किमाथाङ्का क्षेत्रमा स्थानीय विकाससँगै भविष्यमा व्यापारिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

हाल नेपाली सेनाले कर्णाली करिडोर, दार्चुला–टिङ्कर तथा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ गरी तीन प्रमुख सडक आयोजना निर्माण गरिरहेको छ। महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–टिङ्कर सडकको ७९ किलोमिटर खण्डमा निर्माण कार्य जारी छ। अत्यन्त कठिन हिमाली भू–भाग र प्रतिकूल मौसमका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा १९.८० किलोमिटर सडक निर्माण सम्पन्न गर्दै वार्षिक लक्ष्य पूरा गरिएको सेनाले जनाएको छ। हालसम्म यस आयोजनाको भौतिक प्रगति २५.०६ प्रतिशत पुगेको छ।

यस्तै, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने ९२ किलोमिटर जिम्मेवारी क्षेत्रमध्ये हावाडाँडा–दोभान १८ किलोमिटर सडक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म यस आयोजनाको ४०.८ किलोमिटर अर्थात् ४४.३५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर पनि सेनाले निर्माण गरिरहेको प्रमुख परियोजनामध्ये एक हो। हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहासम्म फैलिएको ६८२ किलोमिटर लामो करिडोरअन्तर्गत लालीबगर–दुल्लिकुन्ना तथा घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला गरी २२.०५ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले लिएको छ। लालीबगर–दुल्लिकुन्ना खण्डको ट्र्याक निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ भने घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा निर्माण कार्य जारी छ। आर्थिक वर्ष २०८२/८३ सम्म १९ किलोमिटर सडक निर्माण सम्पन्न भई आयोजनाको समग्र भौतिक प्रगति ८६.१७ प्रतिशत पुगेको छ।

कर्णाली करिडोरलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने क्रममा सेनाले गत असार २२ गते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा बेलिब्रिज जडान गरेको थियो। यसबाट हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै आर्थिक तथा सामरिक दृष्टिले महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

नेपाली सेनाले संविधानले दिएको जिम्मेवारीअनुसार राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजनामा नयाँ ट्र्याक निर्माण, स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सम्बन्धित निकायलाई हस्तान्तरणसम्मका कार्य निर्धारित मापदण्डअनुसार गर्दै आएको जनाएको छ।

सेनाका अनुसार यी सडक आयोजनाको मुख्य उद्देश्य दुर्गम तथा रणनीतिक महत्त्वका क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै सामाजिक, आर्थिक र सामरिक विकासलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु हो। कठिन र चुनौतीपूर्ण भू–भागमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेनाले विकास निर्माणको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिरहेको जनाएको छ।

नेपाली सेनाको विश्वास छ कि सामरिक महत्त्वका यी सडकले हिमाल, पहाड र तराईबीचको पहुँच विस्तार गर्नुका साथै व्यापार, पर्यटन, विपद् व्यवस्थापन तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्दै नेपालको दिगो आर्थिक विकास र राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउनेछन्।

सम्बन्धित समाचार