काभा च्याम्पियन्स लिग, काठमाडौंस्थित दशरथ रंगशालामा सञ्चालन हुने

2.7k Shares

काठमाडौं । नेपालले पहिलो पटक सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी कात्तिक १२ देखि १९ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुने भएको हो ।

नेपाल भलिबल संघ (एनभीए) का अनुसार प्रतियोगितामा काभा क्षेत्रका शीर्ष पुरुष र महिला क्लब टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगितामार्फत नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीविरुद्ध घरेलु मैदानमै खेल्ने अवसर पाउने विश्वास गरिएको छ ।

काभा च्याम्पियन्स लिग आयोजना गर्ने जिम्मा नेपालले पाएसँगै नेपाली भलिबलको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा नेपालले काभाका विभिन्न प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको छ, जसका कारण यो प्रतियोगिताको जिम्मेवारी पनि नेपालले पाएको हो ।

प्रतियोगिताको विस्तृत खेल तालिका, सहभागी क्लब र प्राविधिक नियमावली भने आयोजकले पछि सार्वजनिक गर्ने जनाएको छ। प्रतियोगिताले नेपाली भलिबलको स्तर उकास्नुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार