ब्रड पिकमा ज्यान गुमाएका निम्ससहितका आरोहीको शव उद्धार सुरु

11.4k Shares

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा भएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहितका आरोहीहरूको शव उद्धारका लागि खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारीमा जुटेको छ।

उद्धार अभियानको ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव क्याम्प–१ सम्म ल्याइनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्‍याउने योजना रहेको टोलीले जनाएको छ।

मौसम र हिमालको अवस्था अनुकूल रहे जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवलाई थप सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।  उद्धारमा खटिएको टोलीले दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने प्रतिबद्धता जनाएको छ।

गत बिहीबार (१४ साउन) पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा गएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही थिए। पुर्जाको निधन भएको पुष्टि शनिबार मात्रै भएको थियो। उनी उक्त आरोहण टोलीका नेता थिए।

ब्रड पिक हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ। विश्व कीर्तिमानी आरोही पुर्जासहित अन्य आरोहीहरूको निधनप्रति नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले गहिरो दुःख व्यक्त गरिरहेको छ।

सम्बन्धित समाचार