काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको शव फेला पारेको हो । सोही स्थानमा थप तीन जनाको शव पनि देखिएको जनाइएको छ। ती शवहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको क्लबले जनाएको छ ।
एसीपीका अनुसार उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने तयारी गरिरहेको छ । दुर्गम भू–भाग, हिमपहिरोको उच्च जोखिम र प्रतिकूल मौसमका कारण उद्धार अभियान अत्यन्त चुनौतीपूर्ण बनेको क्लबले उल्लेख गरेको छ ।
पाकिस्तानको चर्चित अनलाइन डनका अनुसार घटनासम्बन्धी प्रारम्भिक विवरण मात्रै प्राप्त भएकाले आधिकारिक पुष्टि नभएसम्म अपुष्ट सूचना सार्वजनिक नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
यसअघि शनिबार निर्मल पुर्जाको अभियान व्यवस्थापन गरिरहेको कम्पनी एलिट एक्स्पेडले पाकिस्तानी आरोही सोहेल साखीसहित अभियानमा संलग्न सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो । यसअघि नै तीन जना आरोहीको शव तथा एक अमेरिकी आरोहीको हुन सक्ने मानव अवशेष फेला परिसकेको जानकारी एसीपीकी नाइला कियानीले दिएकी थिइन् ।
एसीपीका महासचिव अयाज शिग्रीका अनुसार पाकिस्तान र नेपालका आरोही सम्मिलित आठ सदस्यीय उद्धार टोली आइतबार बिहान ९ बजे अघि क्याम्प–१ पुगेको थियो। त्यसपछि टोलीले एड्भान्स बेस क्याम्पतर्फ अघि बढ्दै ब्रोड पीकको ढिस्को क्षेत्रमा खोज तथा शव उद्धार अभियान जारी राखेको छ । हेलिकप्टर परिचालन गर्न अनुकूल अवस्था नभएकाले उद्धार कार्य पूर्ण रूपमा स्थलमार्गबाट सञ्चालन भइरहेको एसीपीले जनाएको छ ।