पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, काठमाडौंमा प्रतिलिटर २०० रुपैयाँ

4.3k Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खुद्रा मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल निगमले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसाले लागत बढेर आएको छ। सोही आधारमा नेपालमा पनि मूल्य समायोजन गरिएको हो।

यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ रहेको थियो।

निगमले मूल्यवृद्धिपछि पनि पेट्रोलियम पदार्थको बिक्रीमा पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ। निगमका अनुसार बढेको अन्तर्राष्ट्रिय खरिद लागतका कारण मूल्य समायोजन गर्न बाध्य हुनुपरेको हो।

 
सम्बन्धित समाचार